भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ११, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बाधा अड्काउ फुकाएर सहमतिको सरकारका लागि आह्वान गरेकी छिन्, तर दलहरूबीच सहमतिको सम्भावना कम छ ।
यसकारण सहमतिको सम्भावना कम
कारण – १ : कांग्रेस
कांग्रेसले स्पष्टै रूपमा राष्ट्रिय सहमतीय सरकारको सम्भावना छैन भनिसकेको छ । सुशील कोइराला नेतृत्वको सरकारमा एमालेले दुःख दिएको, प्रमुख तीन दल नै सरकारमा सहभागी हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रमुख प्रतिपक्षी हुने र सशक्त लोकतान्त्रिक दल प्रतिपक्षी नहुने भएकाले पनि कांग्रेसले यसपटक एमालेलाई सँगै लान नचाहेको नेताहरू बताउँछन् ।
कांग्रेसले चुनावी प्रतिस्पर्धी दल एमालेभन्दा माओवादीलाई रोज्दा सरकार सञ्चालन सहज हुने पनि ठानेको छ । साथै, आफूसरहको दल एमालेलाई पनि साथ लिँदा मन्त्रालय मिलाउन नसक्ने र टसल आउने अनुभव सुशील कोइरालाको सरकारबाटै कांग्रेसले पाइसकेको छ । अझ, कांग्रेसले सहमति गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाउन लिखित सहमति गरेपछि उसलाई अब माओवादीलाई धोका दिन नैतिक प्रश्न उठेको छ । किनकि प्रमुख तीन दल सरकारमा सहभागी हुँदा एमाले तेस्रो दलबाट प्रचण्डलाई प्रधानमन्त्री मान्ने पक्षमा छैन ।
कारण – २ : एमाले
कांग्रेस र माओवादी मिलेर एमाले नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएकाले दोस्रो ठूलो दल एमाले सहमतीय सरकारमा सामेल हुन इच्छुक देखिएको छैन । कांग्रेसलाई समेत मनाएर ओली नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिने प्रयास गर्दागर्दै अर्को बहुमतीय सरकार गठनका लागि दुई दलले मिलेर अविश्वासको प्रस्ताव दर्ता गरेको भन्दै एमाले तत्काल सरकारमा जान इच्छुक नदेखिएको हो । कांग्रेसले तीन प्रमुख दल एकैपटक सरकारमा रहनु प्रजातन्त्रविरोधी भन्ने नीति बनाएर सहकार्यको संस्कृतिलाई अवमूल्यन गरेको एमालेको बुझाइ छ । कांग्रेस तयार भएर आलोपालो नेतृत्व प्रणालीसहित नयाँ आधारमा सहमति खोज्दा मात्रै राष्ट्रिय सहमति बन्न सक्ने एमालेको ठम्याइ छ । सरकारको नेतृत्व गर्ने दुई प्रमुख दल र खासगरी कांग्रेसले नै त्यस निम्ति पहलकदमी नलिएसम्म एमालेमा त्यसमा छलफल गर्ने सम्भावना देखिएको छैन ।
कारण – ३ : माओवादी
राष्ट्रिय सहमतिको सरकार बनाउन माओवादी केन्द्रले एमालेसहित सबै राजनीतिक दललाई अपिल गर्ने तयारी गरेको छ । यसअघि पनि कांग्रेस, एमाले र माओवादीसहितका दलहरूबीच सहमतीय सरकार गठनमा माओवादी केन्द्रले छलफल गर्दै आएको हो ।
तर, एमाले अध्यक्ष केपी ओली पक्षका कारण त्यो प्रयासले सार्थकता पाउन नसकेको बुझाइ माओवादी छ । अहिले पनि एमालेमा त्यही प्रवृत्ति बहुमतमा रहेका कारण तत्काल त्यो सम्भावना माओवादी केन्द्रले देखेको छैन । तर, सहमतिको सरकार बनाउने विषयमा छलफल गर्न तयार रहेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन् । ‘हामी राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न अपिल त सबैलाई गर्छाैं, तर अहिले भर्खरै त्यस्तो सहमति भइहाल्छ भन्ने देखिँदैन,’ प्रवक्ता भुसालले भनिन्, ‘मुख्य दलहरूबीच सहमति होस् भन्ने हाम्रो मनसाय भने रहिनै रहन्छ ।’
नयाँ सरकारको पक्षमा छन्
नेपाली कांग्रेस
माओवादी केन्द्र
नेकपा संयुक्त
राप्रपा
फोरम लोकतान्त्रिक
संघीय समाजवादी फोरम
तमलोपा
सद्भावना पार्टी
तमसपा
रामसपा
थरुहट तराई पार्टी
राष्ट्रिय मञ्च थरुहट
समाजवादी जनता पार्टी
नेपाल जनता दल
फोरम गणतान्त्रिक
नेपाः राष्ट्रिय पार्टी
नेपाल सद्भावना पार्टी
प्रतिपक्षमा बस्न निश्चित गरेका दल
एमाले
राप्रपा नेपाल
नेकपा माले
नेमकिपा
राष्ट्रिय जनमोर्चा
अनिर्णीत दल
नेपाल परिवार दल
बहुजन शक्ति पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक)
खम्बुवान राष्ट्रिय मोर्चा
अखण्ड नेपाल पार्टी
जनजागरण पार्टी
मधेस समता पार्टी
दलित जनजाति पार्टी
-नयाँ पत्रिका दैनिक

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top