भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
उचाइ दिलाउने त आखिर क्वालिटीले नै हो । यसपटक फिल्म ‘क्लासिक’ बाट देशकै सर्वाधिक प्रतिष्ठित राष्ट्रिय अवार्ड नै जितिन् । केही साताअघि मात्रै शीतलनिवासमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीकै हातबाट अवार्ड थाप्दा नम्रताको गोरो अनुहारमा झन् चमक थपिएको थियो ।
नम्रतालाई देख्नेहरू ब्युटिफुल मान्छन् । हुन पनि छरितो शरीर, गोरो वर्ण, सर्लक्कको कपालमा डिम्पल पर्ने हँसिलो मुहार जो कोहीलाई मोहित पार्न पर्याप्त छ । यसैले पनि नम्रतालाई प्राय: दर्शकहरू लभस्टोरी फिल्ममा हेर्न बढी रुचाउँछन् । ‘सानो संसार’ की ऋतु होस् वा ‘मेरो एउटा साथी छ’ की शिखा, लभरगर्लका रूपमा नम्रता फिट देखिन्छिन् । नजिकबाट संगत गर्नेहरू नम्रतालाई ब्युटिफुलसँगै बोल्ड पनि मान्छन् । उनको मादक हाँसोले जतिलाई कमजोर पार्ने ल्याकत राख्छ, उनी आफैंमा भने बोल्ड छिन् ।
नम्रताका लागि जीवनमै कालो बनेर एउटा घटना घट्यो । जतिबेला ‘मेरो एउटा साथी छ’ हलमा चलिरहेको थियो । दर्शक प्रतिक्रियाले उनलाई उत्साहित पारिरहेको थियो, ठीक त्यही बेला नम्रता सम्मिलित प्राइभेट सेक्स भिडियो अनपेक्षित रूपमा बाहिरियो । केही अघि मात्रै आफ्नो नग्न फोटो पत्रिकामा छापिदिएपछि नायिका श्रीशा कार्कीले आत्महत्या गरेकी थिइन् । नम्रताका लागि त झन् सहज थिएन । उनलाई ठूलो अपराधी बनाएर कमेन्ट्स आउने क्रम बढिरहेको थियो ।
कतिपयलाई नम्रता पनि बहकिएर श्रीशाको बाटोमा जालिन् भन्ने लागेको थियो । यति नै बेला नम्रताले आफ्नो बोल्ड छविलाई कायम राखिन् । हिम्मत जुटाइन् । उनलाई परिवारबाट दरिलो साथ मिल्यो । ‘जीवन सुन्दर छ’ एक अन्तर्वार्तामा नम्रताले भनेकी थिइन्, ‘म असफल भएर मर्न चाहन्नँ र कहिल्यै पछि फर्केर पनि भाग्दिनँ । मैले धेरै गर्नु छ ।’ उक्त घटनाले झन् जीवन जिउन सिकाएको ठान्छिन् उनी । सुन्दरता तब सार्थक हुन्छ, जब उसमा क्षमता पनि हुन्छ ।
पछिल्लो समय ब्युटी विथ ब्रेनले महत्त्व पाउन थालेको छ । जसलाई आन्तरिक सौन्दर्य पनि भनिन्छ । नम्रताको कामसँग एकाकार हुने र उनका फिल्म हेर्नेका लागि उनमा ब्रेन ब्युटीको खानी नै छ । चरित्रमा यति डुबेर अभिनय गरिदिन्छिन्, दर्शकले नम्रतालाई नै भुलेर उनको क्यारेक्टरलाई प्रेम गर्न थाल्छन् । ‘क्लासिक’ मा दृष्टिविहीन दृष्टिको भूमिकाले नै उनलाई यस वर्षको राष्ट्रिय अवार्डको हकदार ठहर्यायो । लगत्तै चलचित्र कलाकार संघले गरेको फानमा पनि उनले सोही चरित्रबाट अवार्ड दोब्बर पारिन् ।
चुनौतीपूर्ण भूमिकामा पनि सहज अभिनय नम्रताको खुबी हो । फिल्म ‘मौन’ मा उनको चरित्र वर्षा बोल्न र सुन्नसमेत सक्दिनथिन् । को–स्टार अर्पण थापा पनि उस्तै थिए । तर बोल्न र सुन्न नसक्नेले पनि प्रेम अभिव्यक्त गर्छन् भन्ने कुरा पर्दामा उतार्न अर्पण र नम्रताको जोडी सक्षम रह्यो । ‘मेघा’ मा लिड रोलमा रहे पनि फिल्म त खासै चलेन तर नम्रताको कामको अधिकांशले प्रशंसा गरे । ‘छड्के’ की सोली होस् वा ‘नोभेम्बर रेन’ की शीतल सबैमा नम्रता प्रभावी देखिँदै आएकी छन् ।
नम्रताले फिल्ममा मात्रै नभई रंगमञ्चमा समेत आफूलाई पस्किइसकेकी छन् । ‘जलपरी’, ‘ओलियाना’ हुँदै पछिल्लो पटक ‘यर्मा’ का लागि उनी रंगमञ्च उत्रिएकी थिइन् । अभिनयबाहेक उनी गायनमा पनि रुचि राख्छिन् । उनले आफ्नै निर्माण रहेको फिल्म ‘सोल सिस्टर’ मा रोहितजंग क्षेत्रीले गाएको ‘बिस्तारै बिस्तारै...’ र ‘क्लासिक’ मा मेलिना राईको स्वर रहेको ‘प्रकृतिको सुन्दर सृष्टि...’ गीतको कभर गाएकी छन् । त्यसो त उनको अभिनयको जस्तो चर्चा गायनले पाएको भने छैन ।
अविवाहित ३१ वर्षकी नम्रतालाई १३ लाख बढीले फेसबुकमा फलो गरेका छन् । नामजस्तै नम्र स्वभावकी नम्रता छानेर फिल्म खेल्छिन् । जति खेल्छिन्, आफ्नो प्रभाव कायम राख्छिन् । को–स्टारका रूपमा उनलाई ‘मेरो एउटा साथी छ’ बाटै रुचाइएको जोडी आर्यन सिग्देलसँग दर्शकले बढी मन पराएका छन् । पछिल्लो समय दिनेश राउतले यही जोडीलाई लिएर लगातार ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ बनाएका थिए भने उनी अब यो जोडीलाई नै लिएर ह्याट्रिक सफलता हान्ने दाउमा छन् ।
असफलता नै सफलताको प्रतीक मान्ने हो भने नम्रता त्यसकी उदाहरण हुन् । सेक्स भिडियोको मिडियाबाजी भएपछि उनका मनमा लाखौं तर्कना खेले रे । हुन पनि त्यस्तो समय नेपाली समाजकी नारीका लागि सहज हुने कुरै थिएन । तर नम्रताको दोष पनि के थियो र ? प्रेम गर्नु कुनै अपराध थिएन । अपराध थियो त, जसले होम भिडियोलाई अनुमतिबिना सार्वजनिक गरायो । त्यसको सजाय नम्रताले किन भोग्नुपर्ने ? आखिर यही सोचले नै नम्रतालाई यहाँसम्म तानेर ल्यायो । दोस्रो फिल्मलगत्तै ब्रेक भएको उनको करियरको इनिङ्स यतिबेला फेरि जमेको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment