भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

‘नेपालका लागि आतंकवादी संगठन भन्दा भारत खतरा’
साउन १४। काठमाडौँः नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले भारतको हस्तक्षेपविरुद्ध चट्टान बनेर स्वाधिनताको रक्षा गर्नुपर्ने बताएका छन् ।
सप्तकोसी ब्यारेज आतंकवादी समूहले भत्काउने गलत सूचना दिएर नेपाालीभूमिमाथि हस्तक्षेप गरेको विरोध गर्दै विप्लव माओवादीले भनेको छ, ‘स्वाभिमानी नेपाली जनता भ्रममा नपरी दलालले जस्तो आत्मसमर्पण गरेर होइन स्वाधिनताको रक्षा गर्न चट्टान जस्तो दृढ बन्नुपर्छ ।’
भारतीय सञ्चार माध्ययमले आफ्नो पार्टीको नाम जोडेर अनावश्यक प्रचार गरेको भन्दै त्यसो नगर्न समेत विप्लव माओवादीले भारतलाई चेतावनी दिएको छ । ‘पछिल्ला दिनमा भारतीय सञ्चार माध्यमले हाम्रो पार्टीको नाम जोडेर असामान्य, अस्वभाविक, बाँध भत्काउनेसम्मका प्रचार गरिरहेको छ, त्यसलाई तुरुन्त रोक्न चेतावनी दिन चाहान्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘भारतले बुझ्नुपर्छ नेपाली जनताले दशकौँदेखि संचालन गर्दै आएको स्वाधिनताको संघर्ष रोक्नखोजे भारतले अरु ठूला प्रतिरोधको सामना गर्नु पर्नेछ ।’
विप्लव माओवादीको विदेश विभागले जारी गरेको विज्ञप्तिमा भारतीको विहार राज्यबाट कोसी ब्यारेजमाथि आतंकवादी हमला हुने हल्ला फैलाएकोप्रति आक्रोश व्यक्त गरेको छ । विज्ञप्तिमा भारतले भनेजस्तो खतरा कोशी ब्यारेजमा नभएको समेत दाबी गरिएको छ । नेपालका लागि अन्तराष्ट्रिय आतंकवादी संगठनभन्दा पनि भारत खतरा रहेको विप्लव माओवादीको ठहर छ ।
‘भारतले सन् १९६५ मा नेपालको संक्रमण कालिन राजनीतिको फाइदा उठाउँदै नेपालमाथि अन्यायपूर्ण ढंगले लादेको सम्झौता थियो । त्यसको विरोध नेपाली जनताले त्यतिबेलैदेखि निरन्तर गर्दै आएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यतिमात्र होइन, भारतले नेपालमाथि लादेका गण्डक, कालापानी, लिपुलेक, माथिल्लो कर्णाली, अरुण–३, कोशी उच्चबाँधको पनि पुरै विरोध गर्दै आएका छन् ।’
विज्ञप्तिमा भारतले नेपालमाथि असमान सन्धि सम्झौता लादेर आफ्नो उपनिवेश बनाउन चाहेको आरोप समेत लगाइएको छ । भारतको हस्तक्षेपकारी चाहनालाई नेपाली नागरिकले सहन नसक्ने विप्लवको ठहर छ ।
‘भारतको हस्तक्षेपलाई नेपालका स्वाभिमानी नागरिकले एकरत्ति पनि सहन सक्दैनन्’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालीको यो विचारलाई भारतले राम्रोसँग बुझेपछि राष्ट्रिय स्वाधिनताको संघर्षलाई कथित आतंकवादको हवाला दिएर ओझेलमा पार्ने र नेपाललाई त्रासको छायामुनि नियन्त्रण गर्ने अतिक्रमणकारी, हस्तक्षेपकारी बाटो भारतले पकडेको सजिलै देख्न सकिन्छ ।’
विप्लव माओवादी अन्तर्राष्ट्रिय विभागका प्रमुख ‘कञ्चन’को नाममा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘आतंकवादी समूहसँग नेपाालको माओवादीलाई मुछेर भारतले नेपालको माओवादी आन्दोलनलाई दबावमा राख्ने या दमन गर्ने सोचाई बनाएको छ, त्यसले नेपालको माओवादी आन्दोलन, नेपाली जनताको राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अलिकति पनि विचलित गर्न सक्दैन ।’आजको अन्नपूर्ण पोस्ट समाचारमा छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top