भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

खोटाङ, साउन १५ – खोटाङको पुरानो सदरमुकाम खोटाङ बजार । यो बजारबाट एक घण्टा पैदल हिँडेपछि पुगिन्छ खोटाङ बजार गाविस–६ को धनमुढा । माथिल्लो भाग धनमुढा अनि तल्लो चाहिँ दिगाउँ ।
धनमुढामा घरहरु बाक्लै छन तर दिगाउँ झरेपछि फाट्टफुट्ट मात्रै देखिन्छन घरहरु । यिनै घरहरुमध्येको एउटा घर हो रणशोभा राईको ।
ढुङगा र माटोको गारो अनि छानो चाहिँ फुसको । त्यो पनि बर्खाको पानी नथेग्ने खालको । यही घरमा ८ वर्षकी सविना र ५ वर्षकी नातिनी अञ्जुसँग बस्नुहुन्छ ४८ वर्षकी रणशोभा । ३० वर्ष अघिसम्म यो घरमा रणशोभाका श्रीमान पनि हुनुहुन्थ्यो, अनि छोरा पनि । तर ३० वर्षको अन्तरालमा अहिले उहाँसँग न श्रीमान हुनुहुन्छ न त छोरा नै । श्रीमानको निधन भएको २९ वर्ष पुग्यो । श्रीमानले छोडेर जाँदा छोरा काजी ३ वर्षका मात्रै थिए । उमेर छँदै एक्लो भएपनि उहाँले हार मान्नुभएन । ‘उहाँले मलाई उमेर छँदै छोडेर गएपनि मैले हार खाइन’ रणशोभा भन्नुहुन्छ ‘उसैको अनुहार हेरेर दुःख गरें अनि हुर्काएँ ।’
१६ वर्षको हुँदा उहाँले छोरोको बिहे गरिदिनुभयो । दिन, महिना हुँदै ५ वर्षमा दुईजना छोरी पनि भए काजीका । एकातिर जिम्मेवारी थपियो, अर्कोतिर गरिखाने गतिलो मेलो पनि थिएन काजीसँग । त्यसैले रणशोभाले नै विदेश पठाउने निर्णय गरेर साउदी अरब पठाउनुभयो । काजी राई दुई वर्षसम्म त बस्नुभयो तर जाँदा लागेको ३ लाख ऋण तिर्न बाहेक पैसा बचाउन सक्नुभएन । त्यसैले दुई वर्षको छुट्टिमा घर फर्किएका काजी फेरि साउदी नै जानुभयो । तर त्यसको १० महिनामा भने मुटु रोगी भएर घर फर्किनुभयो । ऋण तिरिसकेपछिको १० महिनामा केही पैसा बचाउनु त भयो तर बचाएको त्यो पैसा घर फर्किएर उपचार गर्दैमा सकियो । ‘कमाएको जति खर्च गर्दा बचेको भए त हुन्थ्यो तर उ रहेन’ छोराको निधन भएको सुनाउँदै गर्दा रणशोभा भक्कानिनुभयो । यो विचमा अर्की छोरी पनि जन्मिइन् काजीकी । तर तीन सन्तान, श्रीमती अनि आमालाई छोडेर जानुभयो काजी ।
श्रीमानले पनि उमेरमै छोडेर जानुभयो अनि छोराले पनि । श्रीमानले छोडेर जाँदा बाँकी रहेका उहाँका सपना छोरासँगै सकिए जस्तो भयो । तर पनि धैर्यता राख्न छोड्नुभएन । श्रीमानको निधन हुँदा छोरा हेरेर सम्हालिएकी रणशोभा अहिले तिनै तीन जना नातिनीको अनुहार हेरेर बस्नुभएको थियो । तर १ वर्षपछि बुहारीले दोस्रो बिहे गरिन् अनि कान्छी नातिनी पनि सँगै लिएर गइन् ।
पीडा माथिको पीडाले हिजोअस्तिसम्मको रणशोभाको आँट बिस्तारै कम भयो । एकातिर श्रीमान र छोराको निधनको पीडा अनि अर्कोतिर बुहारीले छोडेर गएका दुई नातिनीको पालनपोषण । यसैको तनावले रणशोभाको शरीर त दुव्लायो नै । नातिनीहरुको हेरचाहमा ध्यान पुग्नु छोड्यो ।
रणशोभालाई त्यस्तै अवस्थामा भेट्नुभएको थियो सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी मनोसामाजिक परामर्शकर्ता सरिता राजभण्डारीले ।
आर्थिक समस्याले चिन्तामा परेको थाहा पाएपछि मनोसामाजिक परामर्शकर्ता राजभण्डारीले उहाँलाई त्यसै अनुसार परामर्श दिन थाल्नुभयो । ‘मैले उहाँलाई आफ्नो आर्थिक श्रोत चिन्ने कुराबाट परामर्श दिन थालेको थिएँ’ राजभण्डारी भन्नुुहुन्छ ‘त्यो सँगै उहाँका दुईजना नातिनीको पढाईका लागि कतैबाट सहयोग जुटाउन सकिन्छ कि भन्ने पनि सोच्यौं’ । सूचना केन्द्रकै पहलमा अञ्जु र सविनाको पढाई र स्वास्थ्यका लागि सुरक्षित आप्रवासन परियोजनाको आपतकालीन कोषबाट १० हजार रुपैयाँ सहयोग पनि पाउनुभएको छ रणशोभाले ।
त्यही पैसाले नातिनीहरुको पढाई खर्च त पुर्याउनु भयो नै । बाख्राका २ वटा पाठा पनि किन्नुभयो । ‘यी पाठा ठूलो भएपछि बेचेर यिनहरुकै पढाई र बिरामी पर्दा खर्च गर्ने पैसा जुटाउने सोचेको छु’ रणशोभाले योजना सुनाउनुभयो । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रकी मनोसामाजिक परामर्शकर्ता सरिता राजभण्डारीले ६ पटकको परामर्शपछि भेट्दा रणशोभाको अवस्था फेरिएको पाउनुभयो ।
शिक्षिका बन्ने सविनाको रहर
बाबा र आमाले सानैमा छोडेर गएका सविना र अञ्जु अहिले त सपना बुन्ने भइसकेका छन् । कोही मान्छे घरमा पुग्यो भने धक नमानी बोल्ने अञ्जुले त भविष्यमा के भन्ने पनि सोचेकी छिन् । ‘अस्तिको भेटमा उनले मेरो कानमा आएर म त पछि शिक्षिका बन्ने हो भनिन्’ मनोपरामर्शकर्ता राजभण्डारी भन्नुहुन्छ ‘आर्थिक अभावले पढ्नै नपाउने हुन कि भन्ने लागेका नानीहरुले यस्तो भनेको सुन्दा एकदम खुसी छु’ रणशोभाको सपना पनि नातिनीहरुको भन्दा फरक छैन ।
उहाँले नातिनीहरुले पढेर केही गर्न सके छोराको आत्माले पनि शान्ति पाउला अनि आफनो बुढेसकालको सहारा पनि होला भन्ने सोच्नुभएको छ ।
सरिता राजभण्डारीसँगको भेटपछि आफू धेरै फेरिएको बताउने रणशोभालाई छोराको सम्झनाले सताइरहन्छ । त्यसैले छोराको याद मेटाउन घर नजिकै बाटोमा चौतारा बनाउनुभएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top