भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
 |
अमेरिका- डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपतिको आगामी निर्वाचनको लागि उम्मेदवारमा औपचारिक मनोनयन पाएकी हिलारी क्लिन्टनलाई अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामाले क्लिन्टनलाई जिताएरै छाड्ने उद्घोष गरेका छन् । डेमोक्रेटिक पार्टीको अधिवेशनलाई सम्बोधन गर्दै बाराक ओबामाले अमेरिकी जनतालाई राष्ट्रपतिमा हिलारी क्लिन्टन जिताउन आग्रह गरे। क्लिन्टनको प्रशंसा उनले ह्वाइट हाउसमा जान क्लिन्टन जत्तिको सही व्यक्ति अरु नरहेको बताए।
राष्ट्रपति पदका निम्ति पहिलो महिला उम्मेदवारको इतिहास रचेको प्रति क्लिन्टनलाई बधाई दिंदै उनले विगतमा अमेरिकालाई दिएको योगदानको प्रशंसा गरे। तर सम्बोधनका क्रममा उनले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको भने कडा आलोचना गरे।
यसअघि सोही सम्मेलनमा बोल्दै उपराष्ट्रपति जो बाइडनले ट्रम्पमाथि यातना तथा धार्मिक असहिष्णुतालाई समर्थन गरेको अनि अमेरिकी मूल्यमान्यतामाथि धोका दिएको आरोप लगाएका थिए। उनीहरु बोल्नुअघि भर्जिनियाका सिनेटर टिम केनले पार्टीका तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारका निम्ति गरिएको मनोनयन स्वीकार गरेका थिए।
विहिबारै हिलारी क्लिन्टनले पनि राष्ट्रपति पदको पार्टीको मनोनयन स्वीकार्ने कार्यक्रम छ। ट्रम्प एक व्यापारी भएको र उनीसंँग भविष्यका योजना तथा तथ्यहरुको जानकारी नभएको भन्दै आलोचना गरेका थिए।
बुधबार पार्टीबाट औपचारिक सहमति पाएसँगै हिलारी क्लिन्टन, संयुक्त राज्य अमेरिकाको इतिहासमा कुनै प्रमुख पार्टीबाट राष्ट्रपतिको प्रत्यासीका रुपमा मनोनित हुने पहिलो महिला बनेकी छन्।
योसँगै आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको सामना गर्नेछिन्। क्लिन्टनले मनोनयनका लागि आवश्यक पर्ने २३८२ प्रतिनिधिको मतको सीमा पार गरेपछि उनका लागि औपचारिक रुपमा ह्वाइट हाउसको दौडका लागि बाटो खुलेको हो।
पार्टी एकताको संकेत गर्दै क्लिन्टनका प्रतिद्वन्द्वी बर्नी स्यान्डर्सले मनोनयनका प्रक्रियाहरु रद्द गर्न र क्लिन्टनलाई अभिनन्दनसहित सिधै राष्ट्रपतिको उम्मेदवार घोषणा गर्न आह्वान गरेका थिए।
लगत्तै डेमोक्रेटिक पार्टीको राष्ट्रिय कमिटीकी अध्यक्ष मार्सिया फजले सबैको एकै ध्वनि मतपछि उक्त प्रस्ताव अनुमोदन गरेकी थिइन्। त्यसपछि अधिवेशनमा उपस्थित मानिसहरुले खुशी व्यक्त गरेका थिए।
क्लिन्टनले आगामी नोभेम्बरको राष्ट्रपति चुनावमा रिपब्लिकन डोनाल्ड ट्रम्पको सामना गर्नेछिन्।
पहिलो दिन बर्नी स्यान्डर्सका समर्थकहरुले राष्ट्रपतिमा क्लिन्टनलाई मत दिन नसक्ने भन्दै अधिवेशन अवरुद्ध पारेका थिए। पार्टी अधिकारीहरुले तनाव मत्थर पार्ने प्रयास गरेका थिए जसमा बर्नी स्यान्डर्स स्वयमले क्लिन्टनको समर्थनमा सहयोग गरेका थिए।
पार्टीको अनुमोदनसंगै क्लिन्टनका पति पूर्वराष्ट्रपति बिल क्लिन्टनले आफ्नी पत्नी देशको सर्वोच्च पदका लागि किन योग्य छिन् भन्नेबारे बुधबार नै भाषण गरेका थिए।
मिशेल पनि क्लिन्टनको समर्थनमा
अमेरिकाको फिलाडेल्पि्कयामा मंगलबार भएको डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा प्रथम महिला मिशेल ओबामाले रिपब्लिकन पार्टीका डोनल्ड ट्रम्पको भर्त्सना गर्दै हिलारी क्लिन्ंटनको समर्थन गरेकी थिइन्।
मिशेलले सार्वजनिक व्यक्तिहरुको घृणा बढाउने वक्तव्यलेे देशको भावनालाई प्रतिनिधित्व नगर्ने बताएकी थिइन्। ट्रम्पविरुद्ध कडा रुपमा प्रस्तुत भएकी मिशेलको भाषणलाई उपस्थित भीडले ताली बजाएर अनुमोदन गरेको थियो।
मिशेल ओबामाको भाषणलाई डोनल्ड ट्रम्पमाथिको आक्रमणका रुपमा हेरिएको थियो। तर उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका प्रत्याशी ट्रम्पको नाम भने लिईनन्।
उनका पतिपछि राष्ट्रपति पदमा नियुक्त हुने व्यक्तिले आफ्नो काम जानेको हुनुपर्ने र कामलाई गम्भीरतापुर्वक लिने किसिमको हुनुपर्ने उनले बताएकी थिइन्। यस्तो व्यक्ति हिलरी क्लिंटन मात्र हुन सक्ने उनको विचार थियो।डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदकी प्रत्याशी क्लिंटनका कारण देशका सबै छोरीले महिला अमेरिकाको राष्ट्रपति बन्न सक्छिन् भन्ने तथ्य स्थापित गर्ने मिशेलले बताईन्। देशका बालबालिकाप्रति निष्ठा भएकी साँचो जनसेवक भन्दै उनले क्लिंटनको प्रशंसा गरेकी थिइन्।
मिशेल ओबामाको भाषणपछि राष्ट्रपति ओबामाले ट्रवीटरमा गजब महिलाको गजब भाषण भन्दै उनको प्रशंसा गरेर प्रेम प्रकट गरेका थिए। भाषणप्रति आफूले गर्व गरेको भन्दै प्रथम महिलाका रुपमा मिशेललाई पाएकोमा देश धन्य भएको राष्ट्रपति ओबामाले ट्वीटमार्फत बताएका थिए।
क्लिंटनले बिहीबार आफ्नो पार्टीको औपचारिक मनोनयन स्वीकार गर्नेछिन्।
रिपब्लिकन र डेमोक्रयाट दुवै पार्टीका प्रतिद्वन्दीलाई आलोचना गर्ने गरेका डोनाल्ड ट्रम्पले भने बर्नी स्याण्डर्स क्लिन्टनसँग बिकिसकेको भन्दै टिप्पणी गरेका थिए।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
Post a Comment