काठमाडौं, ९ साउन । ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्ने बटुवालाई केहीबेर नियन्त्रणमा लिने योजना बनाएको छ । सडक प्रयोगकर्तामा देखिएको लापरबाहीले हुने दुर्घटना न्यूनीकरण गर्न आजबाट लागू हुने गरी पदैलयात्रीलाई केन्द्रित गरी नयाँ योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । महानगरीय ट्राफिक प्रहरी महाशााखाले उपत्यका केन्द्रित गरी पदैलयात्रीको सुरक्षाका लागि जेब्राक्रसबाट बाटो काट्ने र जेब्राक्रसलाई नटेर्ने चालकमाथि साताव्यापी कार्यक्रम गर्न लागेको हो । सडकमा जेब्राक्रस मेटिनु र पैदलयात्रीले बाटो काट्न खोज्दा चालकले गर्ने व्यवहारप्रति गुनासो बढेपछि महाशाखाले साताव्यापी कार्यक्रम गर्न लागेको हो ।केही घटनामा पैदलयात्रीले र धेरैमा सवारी चालकले सडक अनुशासन उल्लंघन गरेको विश्लेषण महाशाखाको छ । महाशाखाका अनुसार उपत्यकामा ठूलासाना गरी दैनिक ३६ वटा सवारी दुर्घटना हुँदै आएका छन् । पदैलयात्रीको लापरबाहीबाट औसतमा १५ दिनमा ११ वटा दुर्घटना हुने गरेका छन् । जेब्राक्रसिङबाट बाटो काट्दा चालकले किचौँलाझैँ गरेको गुनासो बढेपछि निगरानी गरी कारबाही अभियान चलाइएको महाशाखाका प्रमुख डीआईजी प्रकाश अर्यालले जानकारी दिए ।
Post a Comment