भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौँ, १० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया र बदलिँदो राजनीतिक परिस्थितिका बारेमा परामर्श गर्न आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा करिब दुई घन्टा भएको परामर्शमा प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।
राष्ट्रपतिका सञ्चारविज्ञ माधव शर्माका अनुसार मुलुकको विद्यमान अवस्थामा कसरी सहमतिका आधारमा संविधानको कार्यान्वयन र नयाँ सरकार बन्न सक्छ भन्ने विषयमा परामर्श भएको थियो । शीर्ष नेताले वार्तापछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया दिनुभएन ।
आइतबार प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा परामर्श सुरु भएको हो । यसअघि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनमा अस्पष्ट रहेको धारा २९८ लाई बाधा अड्काउ आदेश जारी गरी स्पष्ट पार्ने काम गरिसक्नुभएको छ ।
भेटमा के के भयो ?
प्रचण्डको निजी सचिवालयका अनुसार भेटका क्रममा राष्ट्रपतिले नेताहरूलाई पार्टीहरूको बीचमा सहज वातावरण निर्माण गरी सहमतिअनुरूप जानको निम्ति आग्रह गर्नुभयो । त्यस्तै सरकार निर्माणको प्रक्रियालाई सहज वातावरण निर्माण गरी अगाडी बढाउने बताउनुभयो ।
उक्त भेटका क्रममा अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दललाई मिलाएर समझदारीअनुरुप जानुपर्दछ र राष्ट्रिय हितका मुद्दाहरू र संविधान कार्यान्वयनमा हामी दृढ रहेको बताउनुभयो ।
त्यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुद्दाहरूमा आफ्नो र एमालेको सहयोग हुने बताउनुभयो ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top