भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

- माधव विद्रोही २०७३ साउन ३ गते ९:२६
प्रधानमन्त्री केपी ओलीले विहीबार सार्वजनिक कार्यक्रममै सरकारबाट कुनै एक दल बाहिरिँदैमा भोजभतेर के का लागि भनेर अनौपचारिक प्रश्न गर्नु भएको थियो ।
सायद यो अनौपचारिक प्रश्नले नेपालका लागि भारतीय राजदूतलाई छोएको हुनु पदर्छ । त्यसैले, राजदूत रेले १२ जुलाई (२८ असार) मा कुनै ठाउँमा कुनै डिनरको आयोजना नगरेको विज्ञप्तिमार्फत दाबी गर्नु भएको छ ।
शुक्रबार आफ्नै निवास लाजिम्पाटमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू चीनसँग १० वर्षदेखि नजिक भएको बताउँदै ‘प्रचण्ड आउँदा चीन झन् खुसी’ हुने बताउनुभयो ।
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले ‘वर्तमान सरकारले तय गर्न लागेको चीनका राष्ट्रपतिको नेपाल भ्रमण कुनै बाहनामा रोकिए नेपालको छवि विश्वमै नकारात्मक हुने भन्दै उहाँले जुनसुकै सरकार भए पनि चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिनु नहुने’मा जोड दिनुभयो ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रधानमन्त्री केपी ओलीलाई ‘सरकार गिराउने खेलामा लागेका विदेशी तत्व र शक्तिहरूलाई जेल हाल्न’ सुझाव दिएको छ । प्रवक्ता खड्ग विश्वकर्माले भन्नुभयो, ‘केपी ओलीले मुलुकलाई राष्ट्रियताको नाममा लुटे, अब कांग्रेस र माओवादी केन्द्रले त्यो चाल पाएपछि हटाउन खोजेका हुन् ।’ ओलीको नक्कली राष्ट्रवाद नेपाली जनताले बुझेको प्रवक्ता विश्वकर्माले दाबी गर्नुभयो ।
माथिका यी भनाईहरु सुनिरहँदा वा पढिरहँदा नेपाली राजनीतिमा विदेशी हस्तक्षेप गतिलै ढंगले भएको प्रष्ट देखिन्छ । यति हो कसैले खुलेर भने कसैले आरोप पखाल्न वा कसैले सुझव दिने गरी भने । अझ विप्लव समूहका माओवादी नेताले त उग्र ढंगले प्रधानमन्त्रीलाई सुझाव दिने गरी नक्कली राष्ट्रवाद भन्दै भारतको तावेदारी गरेका छन् । हिजो २०५२ सालको जनयुद्धताका माओवादीले भारतसँग निकटताको जुन स्पेश बनाएको थियो । विप्लव समूह त्यो स्पेश बनाउन चाहिरहेको छ । भारतको उग्र विरोधको शैलीमा भारतभक्ति भाव हो विप्लव माओवादीको यो भनाई । त्यसैले यसलाई भारतीय भक्तिभावको हिजोको निरन्तरता हो विप्लव समूहको त्यो अभिव्यक्ति भनेर बुझ्न सकिन्छ ।
नेकपा माओवादी केन्द्रले राजनीतिक धरातल छोडेको हिजोको जनयुद्धको उपलब्धीलाई धोका दिएको भन्दै विप्लव माओवादीले जनयुद्धलाई कुनै न कुनै बहानामा निरन्तरता दिने भन्दै मुलुकमा अस्थिरताको श्रृङ्खलालाई निरन्रता दिन खोजिरहेछन् जो भारत चाहिरहेको छ । उनको सक्कली राष्ट्रवाद के हो ? भारतीय नाकाबन्दीको डटेर सामना गर्नु नक्कली राष्ट्रवाद हो ? कि संधै भारतको विरोध देखावटी रुपमा गरेर संधै एउटा देशमा मात्र निर्भर रहनु पर्ने ? नेपाली जनतालाई स्वाबलम्बी बनाउन चालिएको विकासका अभियान जसले राज्य कोषलाई सोझै जनताले खर्च गर्न पाउने गरी व्यवस्थापन गर्नु देश लुट्नु हो ? विप्लव माओवादीको आन्दोलन के का लागि हो ? स्पष्ट हुन जरुरी छ । मुलुकमा गणतन्त्र आएको छ । देश र जनताको लागि राजनीति गर्छु भन्ने विप्लवले मुलुक सम्बृद्धितर्फ अघि बढी रहेको अवस्थामा यो महाअभियानलाई नै गरिरोध गर्ने गरी आएको षडयन्त्रमा षडयन्त्रकारीलाई नै सहयोग पुग्नेगरी अभिव्यक्ति दिनुको अर्थ के हो ? अहिले आएको सरकार परिवर्तनको कुरा सामान्य परिस्थितिको नभई नेपाली जनताको आत्म स्वाभिमान माथिको प्रहारसँगै नेपाललाई संधै अस्थिरता तर्फ धकेल्ने राष्ट्र हित बिरुद्धको षडयन्त्र हो यो । हिजोका पृष्ठभूमी केलाउँदा स्पष्ट हुने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विरुद्ध अविश्वासको प्रस्ताव किन आयो त ? यो सरकार सामन्य अवस्थाको होइन । यो सरकार जुन अवस्थामा गठन भयो त्यो नेपाली जनताले बनाएको संविधानको विरुद्धमा भारत सरकारले ठाडो चुनौति दिदै संविधानको मर्ममाथि प्रहार गरिरहेको अवस्था थियो । अझ संविधान जारी हुनुपूर्व भारतीय प्रतिनिधि पात्रहरुले असोज ३ गते संविधान जारी नगर्न दवाव दिइरहेको अवस्था र एनेकपा माओवादी र नेपाली कांग्रेस पनि खुट्टा लर्खराई रहेको त्यो अवस्थामा एमाले नेता केपी ओलीकै प्रयास र प्रयत्नबाट संविधान जारी हुन सकेको थियो ।
नेकपा एमालेले उठाएको एजेण्डालाई पर सारेर भए पनि संविधान निर्माणमा एमालेको अग्रसरता र सक्रियताले नेपालको संविधान जारी भएको हो भनेर सबैले बुझेका छन् । संविधान जारी गर्नु पूर्व नेकपा एमाले, नेपाली कांग्रेस र माओवादीबीच भएको १६ बुंदे सहमतीदेखि नै भारतले मधेशवादी दलमार्फत त्यसको विरोध गरिरहेको थियो । कहिले बन्द हडताल गर्दै थर्काउने त कहिले अर्ति उपदेशमार्फत अन्य जातीय क्षेत्रीय शक्तिहरुलाई उक्साएर संविधान निर्माण हुन नदिने खेल भारत र युरोपियन युनियनबाट नभएको होइन । यी तमाम अवरोधका वावजुत तीन दलको तत्कालिन अडानले संविधान जारी हुन सकेको थियो । त्यतिखेरदेखि नै भारतले तीन दलीय एकतालाई भत्काउन खोजेको थियो तर शुशिल कोइरालाको आफ्नो खाले अडानले गर्दा कांग्रेस, एमालेको जिम्मेवार प्रस्तुती र माओवादी सहमतिमा नगए आन्दोलनको जस एमाले कांग्रेसले लिने डरले तीनै दल एक ठाउँमा उभिन बाध्य भएका हुन् ।
यसरी संविधान त बन्यो । संविधान घोषणा हुने वित्तिकै भारतले गरेको नाकाबन्दी, नेपालको संविधानमा भारतीय नेतृत्वको अनावश्यक टिप्पणीले गर्दा संविधान कार्यान्वयन झनै जटिल थियो । संविधान जारी गर्ने तीन दलको एकता टुक्र्याउन भारत गतिलै ढंगले लाग्यो । भारतीय राजदूत रञ्जीत रे ले रातारात देउपा र रामचन्द्र पौडेल लगाएर शुशिल कोइरालालाई राष्ट्रपतिमा उठ्न नदिई प्रधानमन्त्रीमा अघि सारे । शुशिल कोइराला राष्ट्रपति पदमा उठ्ने थिएभने सायद उनको निधन हुने थिएन । शुशिल कोइरालाले गरेको कामको जस समेत लिन नदिई सायद उनलाई जीवनबाटै समाप्त पारिएको हुनुपर्छ । त्यसपछि पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डालाई थर्काउन भारतले अमेरिका वेलायतमा गएर साझा विज्ञप्ति मार्फत निक्कै प्रयत्न गरेका थिए । युद्धकालिन अवस्थाको सत्य तथ्य छानविन भएन अन्तराष्ट्रिय कानुनको पालना भएन जस्ता शब्दजाल प्रयोग गरी माओवादीलाई तर्साउने काम भारतले नगरेको होइन । यो समिकरण भत्काउन खोज्नेहरु बल्ल आएर सफल भए ।
भारतीय राजदूत रञ्जित रेले यसै सफलतालाई आफ्नो मिसन भनेको हुनुपर्छ । माओवादीले सरकारबाट अलग्ग भएको निर्णय हुँदैगर्दा भारतीय राजदूतले गोप्य भेलामा भन्दै थिए ‘मेरो मिसन पूरा भयो ।’ माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि भारतीय राजदूत रञ्जित रेको दौडधुप निक्कै बढेको थियो । माओवादीले समर्थन फिर्ता लिएको २४ घण्टा बित्न नपाउँदै भारतीय राजदूत रेले बिभिन्न पार्टीका नेताहरुसँग गोप्य भेटवार्ता गरेको थिए । राजदूत रेले मंगलबार साँझ लैनचौरस्थित भारतीय दूतावासमा बिभिन्न दलका नेताहरुलाई बोलाएर ‘ओली सरकार हटेकोमा आफू निकै खुसी भएको’ बताउँदै उनले उपस्थित नेताहरुलाई भनेका थिए– ‘भारत सफल भयो, अत्यन्त मेहनतका साथ केपी ओलीलाई सफलतापूर्वक सरकारबाट हटाइयो, अब दुईमहिनाभित्र प्रचण्डलाई भारतको भ्रमण गराउँछौँ । मधेशको समस्या, सीमाङ्कनको समस्या पनि हल हुन्छ । सरकारबाट हटेपछि एकातिर केपी ओली, अर्कातिर शेरबहादुर देउवा हुन्छन् कसरी समस्याको हल हुन्छ ?’ भन्ने संसयलाई चिर्दै राजदूत रेले भने– ‘यो चिन्ता नगर्नुस, यो सबैकुरा मिलिसक्यो, हामी मिलाउँछौँ ।’ भारतीय राजदूत निकै ‘कन्फिडेन्स’ देखिएको भेटमा सहभागी मधेशी मोर्चाका एक नेताले खुलासा गरेका छन् । यसबाट नेपाललाई हेर्ने भारतीय स्थिति प्रष्ट हुँदैन र ?
यो सरकार हटाउनु नहुने कारणहरु
केपी ओलीको सरकारले नेपाललाई एक स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रको रुपमा प्रस्तुत गरेको थियो । ओली सरकारले छिमेकी राष्ट्रहरुसँगको समकक्षी सम्बन्धमा जोड दिदै नेपाल भूपरिवेष्ठित राष्ट्र भएको प्रमाणित गराएको थियो । सरकारले छिमेकी राष्ट्र भारतसँग भएको व्यापार तथा पारवहन सन्धि जस्तै अर्को छिमेकी राष्ट्र चीनसँग पनि व्यापार तथा पारवहन सन्धि गरी नेपालको आपूर्ति व्यवस्थालाई थप मजबुत बनाएको थियो । तर, यो कार्यलाई कार्यान्वयनमा ल्याउनु अगावै ओली सरकारलाई हटाउनु भनेको नेपाललाई भारत आश्रित बनाउनु हो । ओलीले प्रधानमन्त्री भएकै दिन घोषणा गर्नु भएको नेपालका सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने कार्यसमेत शुरु गर्नु भएको थियो । ओली सरकारले सम्बृद्ध नेपाल निर्माण गर्ने कार्यमा जनताको भावना अनुसार नीति, कार्यक्रम र बजेट ल्याउने काम गरी नेपाली जनतालाई विकास निर्माणप्रति उत्साहित गराएको छ ।
यो सरकारले नेपाललाई अरु राष्ट्रसामु हात फैलाउने शैलीलाई अन्त्य गर्न नेपालका श्रोतलाई उत्खनन् गर्न केही प्रारम्भिक कार्य पनि सुरु गरेको अवस्था थियो । चीनसँगको व्यापार तथा पारवहन सम्झौतालाई पूर्णता दिन र नेपाल चीनको बजारलाई व्यवस्थित बनाउन चिनिया राष्ट्रपतिको नेपाल भ्रमण समेत तय भई सकेको थियो । नेपालले सम्बृद्ध बन्न गरेको प्रयत्न भारतलाई मन परेको थिएन । जतिखेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा चुनिदै हुनुहुन्थ्यो, त्यतिखेरदेखि नै भारत सरकारले ओलीलाई विस्थपित गराउन चाहन्थ्यो । सायद त्यसैले केपी शर्मा ओलीको सरकारबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समर्थन फिर्ता लिएको हो । समर्थन फिर्ताको समाचार जतिखेर बाहिर आयो त्यतिखेर भारतीय राजदूत रञ्जीत रे ले बुरुक्कै उफ्रेर आफ्नो मिसन सफल भएको बताएका थिए । २८ गते राजदूत रेले ओलीको सर्मथन फिर्ता भएको खुशियालीमा डिनर पार्टी नै दिएका थिए ।
कुनै छिमेकी राष्ट्रको राजदूतले आफ्नो छिमेकी राष्ट्रको अस्तिरता मच्चाउने गरी देखाएको हर्कत सहन योग्य छैन । यसरी हेर्ने होभने नेपालको स्वाभिमानलाई गिराएर आफ्नो प्यादा राखेर सत्तामा त चढाउला तर, भारतीय इसारामा चल्ने प्रचण्ड देउवा गठबन्धनको सरकारले संविधान कार्यान्वयन सिमाङ्कन र मधेशी मुद्दामा साझा सहमती बनाउन सक्छ ? साझा सहमती ल्याउन पनि नेकपा एमाले नेपाली कांग्रेस र माओवादी केन्द्रको साझा सहमती बन्न आवश्यक छ । तर, नेपाली कांग्रेस एमाले बाहेकबाट समस्याको समाधान खोज्दैछ । जुन कुनै हालतमा सम्भव छैन । भारत पनि यही चाहिरहेको छ नेपालको कुनै समस्या समाधान नहोस् । नेपालमा संधै अस्थिरता होस् र आप्mनो स्वार्थ सिद्ध गर्न अनुकूल वातावरण बनोस भन्ने भारत चाहन्छ । त्यसकारण केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नु नेपाली स्वाभिमानको विपक्षमा रहेको छ । सम्बृद्ध नेपालको विपक्षमा यो गठबन्धन उभिएको छ ।
गर्ने के त !
मुलुकको संक्राणकालिन अवस्था अन्त्य गर्नु पर्ने जिम्मेवारी यो सरकारले पाएको छ । अन्य परिस्थितिभन्दा पृथक ढंगले यो अवस्थाको मूल्याङकन गरी संविधानको मर्म पनि यसै सरकारले आउँदो २०७४ मंसिरसम्ममा तीनै तहको निर्वाचन गर्नु पर्ने परिस्थिति कसैले पनि विर्सनु हुँदैन् । यो समयमा यही सरकारमा सबै दलको बलियो उपस्थितिमा संविधानलाई कार्यान्वयन गर्ने जिम्मेवारी ठूला सबै राजनीतिक दलहरुको काँधमा आएको छ । यसलाई वेवास्ता गर्दै विदेशीको इसारामा सरकार परिवर्तनको उकुर्जी मात्र उठाउने, संविधानको कार्यान्वयन नगर्ने, मुलुकलाई सम्बृद्धि तर्फ लैजाने नमान्ने यथास्थितिलाई निरन्तरता दिने माओवादी केन्द्र र नेपाली कांग्रैसले सोच राखेको होभने नेकपा एमालेसहित राष्ट्रवादी शक्तिहरु मिलेर कडा निर्णय लिन बाध्य हुनु पर्दछ ।
एमाले राप्रपा समिकरणको यो सरकारले सामान्य अवस्था होभने सजिलै सरकार छोड्नु पथ्र्यो तर, विदेशी इशारामा सरकार परिवर्तन गर्ने र नेपालको प्रगतिमा अवरोध खडा गर्ने जुासुकै शक्तिका विरुद्ध कडाकदम चाल्न यो समिकरण पछि पर्नु हुँदैन । यो अवस्थामा एउटै मात्र बाटो अघि देखिन्छ त्यो भनेको संसद विघटन गरी ताजा जनमतका लागि जनतामाझ जाने । यस कार्यको लागि राज्य पुनसंरचना आयोगले दिएको प्रतिवेदन अनुसार स्थानीय प्रादेशिक र केन्द्रको निर्वाचन गरी नयाँ निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्नु नै हो । यो अवधिमा वेपत्ता आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगले ल्याएको प्रतिवेदनले माग गरे अनुसारको काम पनि यसै सरकारले गर्नु पर्दछ । यो काम गर्न मैजुदा सरकार पछि हट्नु हुँदै डटेर सामना गर्नु पर्दछ । अहिले एमाले वा राप्रपाको समिकरण हार्दैन सिङ्गो देश हार्छ । स्वदेशी शैलीमा प्रवेश गरेको विदेशी कुटील चाललाई यो सरकारले बुझ्नै पर्दछ । सडक तथा सदनको सबै तहको भण्डाफोर अभियानलाई सशक्त बनाउनै अघि बढ्नु पर्दछ यही अहिलेको माग हो । !! अस्तु !!

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top