भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन ७ । काठमाडौं–हरेक दिन उनी बिजौरी बजारस्थित आफ्नो सानो ढेब्रीमा बसेर ग्राहकका जुत्ता सिलाइरहेकी हुन्छिन् । उमेरले ४२ वसन्त पार गरेकी सीता सार्कीले जुत्ताचप्पल सिलाएरै छोराछोरी पढाएकी छिन् । तीन वर्ष अगाडि टिभी रोगले थलिएर उनका श्रीमान छोटे सार्कीको निधन भएपछि ३ छोरी र २ छोराकी आमा सीता परिवारकी एक्ली अभिभावक बनेकी हुन् ।
कक्षा ५ मा पढ्दै गरेका उनका जेठा छोरा पढ्न छाडेर कामको खोजीमा भारततिर गएका छन् । जेठी छोरीको बिहे भइसकेको छ । माहिली छोरीले घरमै आमालाई सघाएर बस्छिन्, कान्छी छोरी स्थानीय सामुदायिक विद्यालयमा कक्षा ९ मा र कान्छा छोरा कक्षा ३ मा पढ्छन् ।
जुत्ताचप्पल सिलाएर छोराछोरीको फिस तिर्न, कापी कलम किनिदिन, स्कुल ड्रेस सिलाउन र घरखर्च चलाउन उनलाई मुस्किल परेको छ । तर अरू विकल्प छैन । उसो त आमा छोरी मिलेर कहिलेकाहीँ इँटा बोक्न जान्छन् । मजदुरीबाट आएको पैसाले साँझ बिहानको गर्जो टार्छन् ।
कहिले काहीँ दिनमा २०० जति आम्दानी हुन्छ । कहिले त एउटै ग्राहक हँुदैन । रित्तो हात घरमा फर्किनु पर्छ– सीता भन्छिन् । तर कमाइ भए पनि नभए पनि उनको ढेब्री राखेको जमिनको महिनाको २ सय १० रुपियाँ जग्गाधनीलाई भाडा स्वरूप बुझाउनुपर्दछ ।
सात वर्ष अगाडिदेखि नै उनका श्रीमानले यही ढेब्रीमा जुत्ता सिलाउने काम गर्थे । दुई वर्ष अगाडि श्रीमानको मृत्यु भएपछि भने उनले नै ढेब्रीमा जुत्ताचप्पल सिलाउने काम थालेकी हुन् ।
सामान्यत जुत्ताचप्पल सिलाउने काम पुरुषले गर्ने काम हो । आफूले त्यही काम गर्दा अरूले के भन्लान् भन्ने सोच उनमा आएन । त्यसैले श्रीमानले गरिरहेको काममा उनलाई कहिल्यै हीनताबोध भएन । “बाँच्नको लागि केही काम त गर्नै पर्यो । त्यसैले यही काम गर्न थालेकी हुँ ।”– सीता भन्छिन् । कहिल्यै स्कुल जान नपाएकी सीताको भनाइ छ । “काम त कामै हो काम सानो र ठूलो भन्ने हुँदैन ।”
सीताको पिरलो यति मात्र कहाँ हो र ? बिजौरी गाविस ६, डाँडागाउँको ऐलानी जग्गामा उनको सानो घर त छ तर आफ्नै नाममा लालपुर्जा छैन । वर्षातको समयमा घर नजिकै रहेको कुलोमा बाढी आइरहन्छ । कुन दिन घरसहित आफू पनि पहिरोमा परी ज्यान गुमाउनुपर्ने हो कि भन्ने पीरले रातभर उनी निदाउन सक्दिनन् ।
दलित विद्यार्थीका लागि सरकारले छात्रवृत्ति दिए पनि आफ्ना छोराछोरीले पाएको उनलाई थाहा छैन । विद्यालयले त्यो छात्रवृत्ति दिएमा विद्यालयको शुल्क त तिर्नु पर्दैनथ्यो । त्यसले घरखर्च चलाउन थोरै भए पनि सजिलो हुने थियो भन्छिन् सीता ।
त्यसो त सरकारले बालबालिकाको शिक्षामा पहुँच बढाउन छात्रवृत्ति कार्यक्रम ल्याएको छ । तर त्यो छात्रवृत्ति आफ्ना छोराछोरीले नपाएको सार्कीको गुनासो छ । सरकारले हरेक दलित बालबालिकाका लागि छात्रवृत्ति कार्यक्रम लागू गरेको छ । यसरी प्रदान गरिने छात्रवृत्तिमा कक्षा १ देखि ८ सम्म प्रतिव्यक्ति ४ सय र माध्यमिक तहमा ५ सय रुपियाँ रहेको छ । वार्षिक रूपमा प्रदान गरिने यस्तो छात्रवृत्तिले एकातिर दलित बालबालिकालाई विद्यालयसम्म पुर्याउन नसक्ने बहस भइरहँदा अर्कोतिर यही छात्रवृत्तिसमेत नपाउने भेटिएका छन् ।
विद्यालयले तयार पारेर पठाउने रिर्पोटको आधारमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको जिल्ला शिक्षा कार्यालय बताउँछ । यसैको आधारमा छात्रवृत्तिका लागि विद्यालयमा छुट्याइने कोटाको आधारमा छात्रवृत्ति वितरण हुँदै आएको छ । दलित विद्यार्थीको सङ्ख्या बढी भए कुल रकमबाट दामासाहीमा जति पर्छ त्यत्ति नै उनीहरूले पाउँदै आएका छन् ।
शिक्षा मन्त्रालयबाट कोटा कम प्राप्त हुँदा जिल्लाका सबै दलित विद्यार्थीले तोकिएको छात्रवृत्ति नपाएको जिल्ला शिक्षा कार्यालयको भनाइ छ । प्राप्त कोटा र विद्यार्थी सङ्ख्याको आधारमा बराबरी पर्नेगरी छात्रवृत्ति वितरण गरिएको छ । तर कुनै दलित विद्यार्थीले छात्रवृत्ति नपाएको उजुरी लिएर जिल्ला शिक्षा कार्यालयसमक्ष नआएको एक कर्मचारीले बताए । उनले भने— यसरी छात्रवृत्तिबाटै वञ्चित गरेको भन्ने नहुनुपर्ने हो । त्यसो भएको भए सम्बन्धित विद्यालयको कमजोरी हो । यस्तो न्यून छात्रवृत्तिले दलित बालबालिकाको शिक्षामा पहुँच बढाउन सकिँदैन । माध्यमिक तह र प्लसटुसम्मकै शिक्षा निःशुल्क भए मात्र शिक्षामा भएको लगानीको सही सदुपयोग हुने कुरा शिक्षा अधिकारी व्यक्त गर्छन् ।रातोपाटीबाट साभार।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top