भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
झन्डै डेढ सय वर्ष पुरानो यो घरमा ठमेल हाउस रेष्टुरेन्ट सञ्चालनमा आएको २५ वर्ष भइसकेको छ। नेपालीका साथै नेवारी खाना खान चाहने विदेशी यो रेष्टुरेन्टमा पुग्ने गर्छन्।
पर्यटक आउने सिजनको समयमा यो रेष्टुरेन्टमा दैनिक झन्डै डेढ सय जना ग्राहक नेपाली खाना खान आउँछन्। नेपाली खानाअन्तर्गत रेष्टुरेन्टले दाल, भात, तरकारी, मिक्स भेज, कुखुराको सेकुवा, खसीको लेदो र तारेको बँदेलको मासु पस्कने गरेको छ। साथै स्न्याक्सको रुपमा यसमा तारेको आलु, तारेको मःमः र सुरुवाको झोल खुवाइने गरिन्छ।
यो नेपाली खाना सेटलाई १ हजार १ सय ५० रुपैयाँ पर्छ। साथै यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर पनि जोडिन्छ। नेपाली खाना सेट अर्डर गर्ने बित्तिकै माथि उल्लेख गरिएका सबै परिकार समावेश गरेर ल्याउने गरिन्छ। यहाँ खुवाइने कालो मासको दाल बिहान ११ बजेदेखि पकाउन सुरु हुन्छ। कराईमा पकाइने भएकाले यो दालको स्वाद भिन्नै हुन्छ।
ठमेल हाउस रेष्टुरेन्टका सञ्चालक नृपेश श्रेष्ठले भने, ‘विदेशीलाई नेपाली खानामा के के अर्डर गर्ने भनेर थाहा हुँदैन त्यसैले हामीले एक सेट बनाएका हौँ।’
विदेशीसँगै नेपाली पनि यो रेष्टुरेन्टमा खाना खान आउने गरेका छन्। विदेशीसँगै ‘फेरवेल पार्टी’ वा ‘वेलकम ‘पार्टी’मा नै धेरैजसो नेपाली यो रेष्टुरेन्ट आउने गर्छन्।
बेलुकीपख यो रेष्टुरेन्टमा नेपाली खाना मात्रै होइन, नेपाली नाच समेत हेर्न पाइन्छ। नेपाली मौलिक संस्कृतिका ७ भिन्न नाचहरु यस रेष्टुरेन्टमा देख्न सकिन्छ। साँझको समयमा नेपाली संस्कृतिको नाच हेर्दै नेपाली खानाको मजा लिन सकिन्छ।
‘भारतीय आए भने हाम्रो नेपाली खानालाई मसला नै छैन भन्छन्, तर विदेशी आए भने त्यही खानालाई अलि मसलेदार भयो भन्छन्’ श्रेष्ठले आफ्नो खानामा ग्राहकले दिएको प्रतिक्रिया सुनाए। ठमेल हाउस रेष्टुरेन्टमा फ्रेन्च, अमेरिकन, ब्रिटिस आउने गर्दछन्। खाना मसलेदार र चिल्लो हुँदैन। जसका कारण भारतीय पर्यटक भने खासै नेपाली खाना खान आउँदैनन्।श्रेष्ठले हासेफको तालिम तथा बिजनेश इन्फर्मेसन सिस्टममा ग्रेजुयट डिप्लोमा गरेका छन्। यो रेष्टुरेन्ट २५ वर्षअघि उनका बुवा नरेन्द्र श्रेष्ठले सञ्चालनमा ल्याएका हुन्।
२६ वर्षअघि श्रेष्ठको परिवारले यो भवन भत्काउने तयारी गरिरहेको थियो। नृपेशको फुपाजूको फ्रान्सेली साथी पेजोले यो भवनलाई नभत्काई कमर्सियल रुपमा प्रयोग गर्न सुझाव दिएसँगै नरेन्द्र श्रेष्ठले यो भवनमा नेपाली खाना खुवाउने रेष्टुरेन्ट खोलेका थिए। श्रेष्ठले भने ‘नेपाली घर थियो, त्यसैले यसमा नेपाली परिकार नै सुहाउने देख्यौँ र नेपालमा त्यतिबेला खासै नेपाली परिकार खुवाउने रेष्टुरेन्ट खुलेका थिएनन्।’
यो रेष्टुरेन्टमा नेवारी खाना खान पनि पाइन्छ। नेवारी खानामा चिउरा, भटमास, छोयला, सुकुटी, बारा, चटामरी, उसिनेको बँदेलको मासु, कुखराको सेकुवा राखिएको हुन्छ। साथै डेजर्टको रुपमा सिकर्नी खान दिइन्छ। दहीलाई पातलो कपडाले छानेर बनेको लेदोलाई काजुको पेष्ट र चिनी राखेर सिकर्नी बनाइन्छ।
नेवारी खानाको मूल्य १ हजार ३ सय रुपैयाँ छ। यसमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर समेत जोडिन्छ। नेपाली र नेवारी खाना नअघाउन्जेल जति पनि थप्न पाइन्छ।
२५ वर्षदेखि यसै रेष्टुरेन्टमा काम गर्दै आएका रमेश श्रेष्ठ अहिले यो रष्टुरेन्टमा सेफ बनेका छन्। उनीसँग लामो अनुभव छ। जसका कारण उनले बनाएको नेपाली खाना स्वादिलो हुने गर्दछ।
खाना पकाउन जारको पानी प्रयोग गरिन्छ भने ग्राहकलाई बोत्तलको पानी दिने गरिन्छ। ट्याङ्करको पानी भने ट्वाइलेट तथा भाँडा माझ्नको लागि प्रयोग गरिन्छ। खाना पकाउन जारको पानी प्रयोग गर्ने गरेका कारण वाटर ट्रिटमेन्ट मेसिन नराखेको श्रेष्ठ बताउँछन्। यो रेष्टुरेन्टमा एकपटकमा झन्डै १ सय ८० जना ग्राहक बस्न मिल्दछ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment