भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं: निजी मेडिकल कलेजहरूको छाता संगठनले दबाब र हतारमा नभई औचित्य र प्रभावबारे गहन छलफल गरेरमात्र अनशनरत प्राध्यापक डा. गोविन्द केसीका मागबारे समुचित निर्णय लिन सरकारलाई आग्रह गरेको छ । एसोसिएसन अफ प्राइभेट मेडिकल कलेज एन्ड डेन्टल कलेज अफ नेपालले कानुन मानेर सञ्चालनमा आएका निजी मेडिकल कलेजहरूको अधिकार कुण्ठित हुनेगरी डा. केसीले केही माग अघि सारेको आरोप लगाउँदै त्यस्ता मागमा नझुक्न पनि आग्रह गरेको छ ।


एसोसिएसनले आइतबार राजधानीमा र्यालीपछि कोणसभा गरेको थियो । नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, नेपालगन्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायत १२ वटा निजी मेडिकल कलेजका सञ्चालक, चिकित्सक, नर्स, कर्मचारी र विद्यार्थीले संयुक्त रूपमा भृकुटीमण्डपबाट निकालेको र्याली माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भएको थियो ।

मेडिकल शिक्षालाई भ्रष्टाचारमुक्त राख्न र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाभियोग लगाउनुपर्ने मागसहित डा. केसीले सुरु गरेको आमरण अनशन नवौं दिनमा प्रवेश गरेको छ । केसीलाई टाउको र छाती दुख्ने, हातखुट्टाका मांसपेशी बाँउडिने समस्या बढ्दै गएको उनका सहयोगी चिकित्सकले बताएका छन् ।

कोणसभामा एसोसिएसन कार्यकारी समितिका अध्यक्ष एवं नेपाल मेडिकल कलेजका अध्यक्ष डा. भोला रिजालले सम्बन्धित विज्ञ र सरोकारवालासँग परामर्श नगरी र परिणामको ख्यालै नगरी ठूलो कष्टका साथ अघि बढेका निजी मेडिकल कलेजहरूलाई धराशयी बनाउने खेल भइरहेको आरोप लगाए ।

‘हामी पनि चाहन्छौं यो मुलुकमा स्तरीय स्वास्थ्य शिक्षा प्रवाह होस् र नेपालको स्वास्थ्य शिक्षा अन्तर्राष्ट्रिकरण होस् भन्ने । नेपाली भूमिमै केही गर्ने इच्छा सदैव छ हाम्रो र त्यसमा निष्ठावान् पनि छौं', डा. रिजालले डा. केसीलाई लक्षित गर्दै आक्रोश पोखे, ‘व्यापक बहसबाट निस्कनुपर्ने निष्कर्षलाई पटकपटक अस्पतालको शय्यामा सुतेर कसैले कार्यान्वयनका लागि दबाब दिन्छ भने त्यो मान्य हुने छैन ।'


भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top