भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

साउन २५, नुवाकोट। गोरखाबाट काठमाडौं जाँदै गरेको हेलिकोप्टर सोमबार नुवाकोटको मदानपुरमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ।
गोरखाको सिर्दिबासबाट सुत्केरी बिरामी बोकेर राजधानी उडेको फिस्टेल एयरको नाइन एनएके कलसाइन भएको हेलिकोप्टर मदानपुर-९ बेतिनी जंगलको भीरमा सोमबार दिउँसो १२ः३५ बजेतिर दुर्घटना भएको थियो।
को-को थिए हेलिकोप्टरमा ?
हेलिकोप्टरमा सवार सबै सातजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा झापा घर भएका फिस्टेल एयरका चालक क्याप्टेन रञ्जन लिम्बू, गोरखा सिर्दिबास-२ का ६० वर्षका कितमान गुरुङ, उनकी श्रीमती ५६ वर्षीया अज्ञानी गुरुङ, सुत्केरी बुहारी १९ वर्षीया प्रिती गुरुङ, उनका पाँच दिनका छोरा, सिर्दिबास स्वास्थ्य चौकीमा कार्यरत सुनसरी इटहरीकी २२ वर्षीया निशा तामाङ, गोरखा उहिया गाविसकी २८ वर्षीया लक्ष्मी गुरुङ छन्।
चट्टाने पहरोमा हेलिकोप्टर ठोक्किएर दुर्घटना
उद्धारका लागि पुगेका नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहोराले भीरको चट्टाने पहरोमा हेलिकोप्टर ठोक्किएको जानकारी दिए। अग्लो पहाडमा बाक्लो कुहिरोले ढाकेका कारण हेलिकोप्टर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, प्रहरी उपरीक्षक बोहोराले भने। डाँडाको टुप्पाबाट झन्डै डेढ सय मिटर तल भीरबाट शवहरू संकलन गरिएको प्रहरी प्रमुख बोहोराले बताए। घटनास्थल अन्यन्तै अप्ठ्यारो भीरमा रहेछ। धन्न शव संकलन गरुन्जेल कुहिरो हट्यो, पानी पनि परेन। कुहिरोले ढाकिरहेको भए घटनास्थल पत्ता लगाउन समय लाग्थ्यो, उनले भने।
घटनास्थलमा धुवाँ आइरहेको थियो, स्थानीय फोटो खिच्नै व्यस्त थिए
उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको टोली पुगेको थियो। साढे १२ बजेतिर दुर्घटना भए पनि भौगोलिक विकटताका कारण उद्धार टोली साढे २ बजे मात्र पुगेको थियो। दुर्घटनास्थलमा यत्रतत्र शवका टुक्रा छरिएका थिए। प्रहरी टोली पुग्दा पनि धुवाँ आइरहेको थियो। स्थानीयवासीहरू उद्धारमा सघाउनभन्दा पनि मोबाइलले फोटो खिच्न व्यस्त थिए, बोहोराले भने, प्रहरी टोली पुगेपछि मात्र उद्धारको काम सुरु भएको हो।
सदरमुकाम विदुरदेखि ४० किलोमिटर सडक दूरीमा रहेको दुर्घटनास्थलमा केही किलोमिटर कच्ची सडक भएका कारण सवारीसाधन नजाँदा उद्धारमा केही कठिनाइ र ढिलाइसमेत भएको थियो। बर्खामा सडक बिग्रिएका कारण उद्धारमा कठिनाइ भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए।
कुहिरोभित्र गड्यांग गरेको आवाज सुनेपछि हेलिकोप्टर खसेको अनुमान
स्थानीयवासी बेलकोटका गोविन्द ढकालले कुहिरोभित्र गड्यांग गरेको आवाज सुनेपछि हेलिकोप्टर खसेको अनुमान गरी प्रहरीको १०० मा फोन गरेको जानकारी दिए। हेलिकोप्टर आएको थाहा थियोे। त्यहीवेला पहाडमा बाक्लो कुहिरो लागेको थियो। हेलिकोप्टर आफ्नै आवाजमा कुहिरोभित्र छिर्यो। केही क्षणमै गड्यांग गरेको आवाज आयो।
-नयाँ पत्रिका दैनिक

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top