भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

श्रावण २७, २०७३- तानसेनका उपभोक्ताले ग्यासको मूल्य सरकारले तोकेकोभन्दा बढी तिरेर किन्दै आएका छन् ।
सरकारले ग्यासको मूल्य १ हजार ३ सय ७५ रुपैयाँ तोकेकामा उपभोक्ताले सदरमुकाममा सय र ग्रामीण भेगमा १ सय ५० रुपैयाँ बढी तिर्नुपरेको हो । ग्यास बिक्रेताले कम्पनीबाट ढुवानी खर्च नपाएको भन्दै तोकेभन्दा बढी रकम असुल गर्दै आएका छन् । तानसेनकी विमला खाम्चाले १ हजार ४ सय ७५ देखि १ हजार ५ सय रुपैयाँ सम्ममा ग्यास किन्नुपरेको बताइन् । ‘यहाँका व्यापारीले जथाभावी मूल्य लिए पनि बोल्ने कोही छैनन्,’ उनले भनिन् ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघले नौ पटक जिल्लामा बजार अनुगमन गरेको भने पनि केही कमी आएको छैन ।
यहाँ अत्यधिक खपत हुने सिद्धार्थ, बुटवल र आरती लगायतका कम्पनीले ढुवानी खर्च दिएको बताए । बुटवल ग्यास कम्पनीका प्रबन्धक दीपक पोखरेलले कम्पनीकै सवारी साधनमा मागेजति ग्यास ढुवानी रकम नलिई पाल्पा पठाएको बताए ।
‘हामीले बिक्रेताबाट थप रकम नलिई चार महिनादेखि आफ्नै गाडीमा पठाएका छौं,’ उनले भने, ‘कहिलेकाहीँ एक/दुई दिन ढिलो हुँदा बिक्रेताको गाडी कम्पनीमा जाने गर्छ ।’ लामो समयदेखि बिक्री हुँदै आएको त्रिशूल, शक्ति र स्वस्तिक ग्यास कम्पनीले ढुवानी खर्च दिन आनाकानी गरेको बिक्रेताले आरोप लगाए । त्रिशूल ग्यास कम्पनी बुटवलका प्रतिनिधि सञ्जय शर्माले ढुवानी खर्च नदिएको स्वीकार गर्दै यसको पहल भएको बताए ।
चाहिएको बेलामा ग्यास नपठाएपछि आफैं ढुवानी गरेर ग्यास ल्याउन बाध्य भएको ग्यास डिलर्स एसोसिएसनका अध्यक्ष राजेन्द्रबहादुर बज्राचार्यले बताए ।
‘कम्पनीले ढुवानी खर्च दिए पनि कम दिएकाले ढुवानी खर्च पुग्दैन,’ उनले भने, ‘बिक्रेता आफैं ढुवानी खर्च गरेर ल्याउने प्रतिस्पर्धाले पनि उपभोक्ता ठगिन पुगेका हुन् ।’ यहाँ मासिक आठदेखि १० हजार सिलिन्डर एलपी ग्यासको खपत हुने उनले बताए ।
यहाँका उपभोक्ताले गत वर्ष नाकाबन्दी अघिदेखि नै सरकारले तोकेको मूल्यमा ग्यास पाएका थिएनन् । एक वर्षअघि प्रशासन र ग्यास बिक्रेताबीच तोकिएको मूल्यमै बिक्री गर्ने सहमति भए पनि पालन हुन सकेन । ग्यास कम्पनी र बिक्रेताका कारण ठगिनु नहुने उपभोक्ता बताउँछन् ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top