भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

२८ साउन,काठमाडौं । संविधानसभाको सदस्य भएर नवलपरासीको वर्दघाटका काठमाडौं हिड्दै गर्दा उनले संकल्प गरेकी थिइन्-संविधान नबनेसम्म गीत नगाउने । संविधानसभाबाट संविधान जारी भइसकेपछि उनको धोको फेरिएको छ-अब धित खोलेर गाउँने हो,कम्मर भाँच्चिने गरी नाच्ने हो ।
तीज आउदै गर्दा सांसद सिन्धु जलेशामा एकाएक सांगितिक पारो चढेको छ । सांसद हुनुअघि एउटा हिट तीज गीत बजारमा छाडेर आएकी सिन्धु यसपालिको तीजलाई विशेष बनाउन खोज्दैछिन् ।
६०१ सदस्यीय संसदमा गीत संगीतबाट आएका तीन सांसद छन् । जेबी टुहुरे,मधु गुरुङ र सिन्धु जलेशा बुढाथोकी । जनसंगीतको एउटै परिवारमा हुर्किएका मध्ये टुहुरे हाल माओवादीबाट सांसद छन् भने मधु र सिन्धु एमालेका ।
एकै स्कूलिङबाट माथि आएका यी तीनमध्ये सिन्धु पछिल्लो पुस्ताकी हुन् । त्यसैले उनको गीत गाउने धोको अझै मरेको छैन । ‘प्रगतिशील र माया प्रेमका गीत गाएँ,एउटा राष्ट्रिय गीत पनि गाएँ । अब कहिल्यै नमर्ने कालजयी गीत गाउने सोचमा छु’ उनले भनिन् ।
‘मिलनपछिको बिछोड सहे पो माया लाउनु
कहिल्यै नमर्ने पि्रत भए पो माया लाउनु
यो गीतले सिन्धुको जनसंगीतको बाटोलाई अर्को टर्निङ दिएको थियो । सानै उमेरदेखि तत्कालीन माले र हालको एमाले पार्टीका कार्यक्रममा गाउँदै नाच्दै अघि बढेकी सिन्धुको यात्रामा उनका पिता प्रचण्डबहादुर बुढाथोकी सधैं पथिक भए ।
सिन्धु पहिले पहिले धेरै नाच्थिन् । नाच्न त अहिले पनि नाच्छिन् । तर त्योबेला आफैंलाई जाँच्नका लागि नाच्थिन्, यो बेला बाँच्नका लागि नाच्छिन् । अर्थात अहिलेको नचाइ चाहिँ उनको शारीरिक व्यायामका लागि हो ।
गाउँको रमाइलो बाटो, ढुंगा चिनेको चौपारी’ भन्ने बोलको गीतमा उनले नाचेकी थिइन्, सायद ४० वर्षजति अघि होला । त्योबेला उनी एक कक्षामा पढ्थिन् ।
बर्दघाटको त्यो माध्यमिक विद्यालयमा उनका पिता प्रचण्ड संगीत शिक्षक थिए । त्यसपछि उनी स्कूलबाट छानिएर क्षेत्रीय नृत्य प्रतियोगिताका लागि पोखरा पुगिन् र दोस्रो स्थान पाइन् । उनका पिता त्योबेला लेखेको गीत आजको परिवेशमा पनि उत्तिकै सान्दर्भिक रहेछ, जुन गीतमा सिन्धुले छमछमी नाचेकी थिइन् । ‘एकतामा मिलिजुली उठौं अब शीर उचाली,,के मधेशी के पहाडी हामी एकै देशका नेपाली’ उनले नृत्य जितेको गीत यही थियो ।
नाच्दा नाच्दै सिन्धु कसरी गायिका भइन् ? यसमा पनि रोचक प्रसंग छ । क्षेत्रीय प्रतियोगितामा दोस्रो भएपछि केन्द्रीय प्रतियोगितामा भाग लिन उनी काठमाडौं आइन् पितासँगै ।
त्योबेला रेडियो नेपालमा उनका बुबाका साथी लोकबहादुर क्षेत्री थिए । त्यही चिनजानले उनका पिता प्रचण्डले रेडियो नेपालमा गीत रेकर्ड गर्ने अवसर पाए । पिताको गीतको टुक्कामा पहिलो पटक स्वर दिएर उनको गायन यात्रा प्रारम्भ भएछ ।
‘जाने भए जाउँ हिाड खस्यौली, खस्यौलामा झन् कति बसौली’
रेडियो नेपालमा कुनैबेला निकै बज्ने यो गीतबाट सिन्धुको जीवन नृत्यबाट गायनतर्फ मोडियो । त्यहि पटक ०४० सालको राष्ट्रव्यापी लोकगीत प्रतियोगितामा उनले पहिलोपटक गाइन् । त्यहीँबाट उनको गायन यात्रा अघि बढ्यो ।
स्कूलमा गाउँदै नाच्दै हिँडेको देखेपछि तत्कालीन नेकपा मालेका स्थानीय नेताहरुको आँखा परेछ सिन्धुमाथि । त्यसपछि उनले भूमिगत पार्टीका कार्यक्रमहरुमा नाच्ने गाउने जिम्मा पाइन् ।
प्रशिद्ध प्रगतिशील साहित्यकार मोदनाथ प्रश्रतिको गीतमा स्वर दिएपछि उनको डिमान्ड बढ्न थाल्यो ।
‘कसले भन्छ छोरीको हारेको जुनी
बल्ल बुझेँ संघर्ष नगरी नहुने’
मोदनाथ प्रश्रतिको शब्दमा स्वर दिँदै उनी गाउँ बस्तिमा हिड्न थालिन् । गाउँदा गाउँदै नाच्दा नाच्दै उनी पार्टीको नेतृत्वमा पनि पुगिन् ।
बहुदलपछि पनि उनी गायिकाकै रुपमा अघि बढि्न । एमाले सम्बद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघमा आबद्ध भएर हिड्दा पार्टीमा उनको हैसियत बन्दै गयो र दोस्रो संविधानसभा निर्वाचनपछि उनी समानुपातिकबाट सांसद भइन् ।
सिन्धुले गाएका धेरै गीतमध्ये ‘डाँफे खेल्ने हिमाल राम्रो, गुरास फुल्ने पहाडै राम्रो’ भन्ने उनको राष्ट्रिय गीतलाई म्युजिक भिडियोमा ल्याउने सोच बने पनि उनले आफ्नै सिर्जनालाई समय दिन पाएकी छैनन् ।
सांसद भएपछि एउटा स्रष्टाले आफ्ना सिर्जनालाई समय दिन पाउने रहेनछ । रियाज समेत गर्न नपाउदा उनी कतै आफ्नो गला बिग्रने हो कि भन्ने चिन्तामा छिन् । ‘अब गाउँछु, धित मर्ने गरी गाउँछु’ उनले भनिन् ।
एक्लै बस्दा आफ्नो बाल्यकालको नाच र गाउने यात्राका हरेक घटनाहरु नोस्टाल्जिया बनेर आउँछन् उनको मनमा । अनि सम्झिन्छिन् अरुणा लामालाई । जसको ‘एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिदा’ गीतले उनलाई विगततिर डोहोर्याउँछ । अनि आफैं गुन्गुनाउन थाल्छिन् ।
नाच्दै गाउँदै हिँड्दा पार्टीमा लागिन् । पार्टीमा गाउँदै नाच्दै हिँड्दा सांसद भइन् । सांसद त सधैं नभइएला, तर एउटा कालजयी गीत गाएर सधैं स्रोता दर्शकको मनमा बस्ने उनको धोको भने बाँकी नै छ । भूपू सांसद हुन मञ्जुर छ, तर भूपू गायिका बन्न उनलाई मञ्जुर छैन ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top