भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं: चीनले छिङ्हाई—सिगात्से रेललाई केरुङबाट काठमाडौं, पोखरा हुँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म विस्तार गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।

चीनका सेन्ट्रल मिलिटरी कमिसनका उपप्रमुख एड्माइरल सन जियाङ्गुओले उपप्रधान तथा रक्षामन्त्री भीम रावलसँग सोमबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएको द्विपक्षीय सहमतिअनुसार चिनियाँ रेलवे लुम्बिनीसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका हुन् । मन्त्री रावलले जनस्तरको सम्बन्ध प्रवद्र्धन गर्न केरुङ आइपुग्ने रेलवेलाई काठमाडौं हुँदै लुम्बिनीसम्म विस्तार भइदेओस् भनने नेपालको अपेक्षा रहेको सन जियाङ्गुओसमक्ष बताएका थिए ।

‘प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको सहमतिअनुसार हामी रेलवे केरुङ, काठमाडौं, पोखरा र लुम्बिनीसम्म विस्तार गर्न प्रतिबद्ध छौं', एड्माइरल सन जियाङ्गुओले भेटमा बताएको उल्लेख गर्दै रक्षा मन्त्रालय स्रोतले अन्नपूर्णसँग भन्यो ।

चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड' रणनीतिअनुसार नेपाललगायत छिमेकी मुलुक, एसिया, युरोप तथा अफ्रिकासम्म रेल, सडक र समुद्रका माध्यमबाट पूर्वाधार विकास गरी आर्थिक उन्नति गर्न चीनले चाहेको उनले बताए ।

‘नेपालमा विस्तार हुने रेलवे वान बेल्ट वान रोड रणनीतिको एक पाटो हुने चिनियाँ अधिकारीको भनाइ थियो', रक्षासचिव महेश दाहालले अन्नपूर्णसँग भने । 

प्रधानमन्त्रीको भ्रमणका क्रममा बेइजिङमा जारी भएको संयुक्त वक्तव्यमा प्रस्तावित रसुवागढी—काठमाडौं तथा काठमाडौं—पोखरा—लुम्बिनी रेलवे परियोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न नेपाली पक्षले आग्रह गरेको उल्लेख गरिएको थियो ।

नेपालले ‘वान बेल्ट वान रोड' रणनीतिमा सहभागी हुन सन् २०१४ को डिसेम्बरमा चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । ‘वान बेल्ट वान रोड' रणनीतिअन्तर्गतको ‘रिभाइभल अफ दि सिल्क रोड इकोनोमिक बेल्ट' मा सहभागी हुनेसम्बन्धी समझदारीपत्रमा तत्कालीन अर्थसचिव सुमनप्रसाद शर्माले बेइजिङमा चिनियाँ पक्षसँग हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री ओलीको चैतमा सम्पन्न चीन भ्रमणका क्रममा नेपाल—चीनबीचको सहकार्यमा बन्ने पूर्वाधारहरू ‘वान रोड वान बेल्ट' अवधारणाको फ्रेमवर्कभित्र रहेर सम्पन्न गर्ने सहमति भएको थियो । नेपाल र चीनबीचका विकास योजना र द्विपक्षीय सहकार्यका कार्यक्रमहरूलाई ‘वान रोड वान बेल्ट' अवधारणाको फ्रेमवर्कभित्र रहेर अघि बढाउन दुवै देश सहमत भएका थिए ।

चीनको स्वशासित क्षेत्र तिब्बतको सिगोत्सेसम्म आइपुगेको छिङ्हाई—तिब्बत ‘हाई अल्टिच्युड' रेलवेलाई सन् २०२० भित्र नेपाल—चीन सीमा क्षेत्र केरुङसम्म विस्तार योजना गत वर्ष सार्वजनिक गरेको थियो ।

चारदिने नेपाल भ्रमणमा रहेका चीनका उच्च सैनिक अधिकारी सन जियाङ्गुओले नेपालको संक्रमणकाल चाँडै टुंगिएर राजनीतिक स्थिरतातर्फ अघि बढेको हेर्न चीनले चाहेको बताए । ‘नेपालमा हुने सत्ता परिवर्तनका कारण हाम्रो नीतिमा फेरबदल आउँदैन । यहाँको शान्ति, स्थायित्व र राजनीतिक स्थिरता हाम्रो चाहना हो', उनले भने ।

भेटमा उपप्रधानमन्त्री रावलले चीनले नेपालको सामाजिक तथा आर्थिक विकासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिए । ‘नेपाल र चीनबीचको सम्बन्धमा द्वन्द्व वा कटुता भन्ने कहिल्यै रहेन । हाम्रो सम्बन्ध शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका आधारमा सुमधुर रूपमा अघि बढेको छ', मन्त्री रावलले भेटमा भने ।

सन जियाङ्गुओले चिनियाँ राष्ट्रपति सी जिनपिङ चाँडै नेपाल भ्रमणमा आउनेसमेत अवगत गराए । ‘राष्ट्रपतिज्यूले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई उच्च महत्त्व दिनुभएको छ । उहाँ चाँडै नेपाल भ्रमणमा आउनुहुनेछ', भेटमा उनले भने ।

कूटनीतिक स्रोतका अनुसार भारतमा हुने बिक्स सदस्य देशहरूको शिखर सम्मेलनका क्रममा सहभागी हुन आउँदा चिनियाँ राष्ट्रपति सी जिनपिङ अक्टोबर १६ मा नेपालको औपचारिक भ्रमणमा आउने प्रबल सम्भावना छ । सोही योजनाअनुसार चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीस्वरूप चिनियाँ उच्च सैन्य अधिकारी नेतृत्वको टोली काठमाडौं आएको हो । ‘यद्यपि राष्ट्रपति भ्रमणको यकिन मिति निश्चित हुन बाँकी छ', कूटनीतिक स्रोतले भन्यो ।

मन्त्री रावलले नेपाल नयाँ संविधान जारी गरी आर्थिक विकासको मार्गमा अघि बढेको र संविधानमा असन्तुष्ट देखिएकाहरूको माग सम्बोधन सहमतिका आधारमा गरिने चिनियाँ अधिकारीलाई बताए ।

नेपालले एक चीन नीति अँगाल्दै आएको र कुनै पनि चीनविरोधी गतिविधि हुन नदिन प्रतिबद्ध रहेको मन्त्री रावलले त्यस अवसरमा बताए । नेपालले एक चीन नीति र स्वशासित क्षेत्र तिब्बतको सुरक्षा चासोमा लिएको ‘पोजिसन' को चीनका उच्च सैनिक अधिकारी सन जियाङ्गुओले प्रशंसा गरे ।

नेपाल र चीनबीच सैन्य क्षेत्रमा सहकार्य बढाउने, नेपाली सेना र चिनियाँ जनसेनाबीच तालिम, भ्रमण, अनुभवलगायत क्षेत्रमा सहकार्य अझै बढाउने विषयमा कुराकानी भएको भेटमा सहभागी रक्षासचिव दाहालले बताए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौता कार्यान्वयन गर्न चीन तयार रहेको र आफू सहमति कार्यान्वयनका विषयमा छलफल गर्ने सन्दर्भमा नेपाल भ्रमणमा आएको सन जियाङ्गुओले बताएका थिए । रक्षा मन्त्रालयमा ४० मिनेट भएको भेटमा रक्षामन्त्री रावलले गत वर्ष गएको विनासकारी भूकम्पपछि चिनियाँ सेनाले फिल्ड अस्पताल सञ्चालन, घाइतेको उद्धार एवं राहत तथा पुनर्निर्माणमा दिएको सहयोगका लागि आभार व्यक्त गरे ।

प्रधानसेनापति राजेन्द्र क्षेत्रीको चीन भ्रमणमा भएका सहमति र सम्झौताअनुसार नेपालसँग सैन्य क्षेत्रमा सहकार्य बढाउन चीन तयार रहेको उनले बताए । मन्त्री रावलले भूकम्पपछि बन्द भएको तातोपानी नाका खुलाउन गरेको आग्रहलाई समेत जनरल सन जियाङ्गुओले सकारात्मक रूपमा लिएको स्रोतले बताएको छ ।

स्रोतका अनुसार जनरल सन जियाङ्गुओले केही समयदेखि मधेसमा जारी आन्दोलनप्रति समेत चासो राखेका थिए । जनरल सन जियाङ्गुओले नेपाली सेनालाई गर्दै आएको सहयोगमा समेत वृद्धि गर्ने बताएका थिए ।

रक्षा मन्त्रालयका प्रवक्ता शिव सिंखडाले दुई देशबीचको आपसी सहयोग र सम्बन्धका बारेमा छलफल केन्द्रित भएको बताए ।

नेपाली सेनाको निमन्त्रणामा तीनदिने नेपाल भ्रमणमा सोमबार एड्माइरल सन जियाङ्गुओ काठमाडौं आइपुगेका हुन् । उनले प्रधानसेनापति क्षेत्रीलाई समेत भेट्ने कार्यक्रम छ । नेपाल बसाइका क्रममा सन जियाङ्गुओ लुम्बिनी भ्रमणमा जानेछन् । नेपाल आउनुअघि बेइजिङस्थित ह्वाइट पेगोडा मन्दिरको समेत उनले भ्रमण गरेका थिए । 

तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङको पालामा भएको चिनियाँ सेनाका तत्कालीन प्रमुख जनरल छन वाङ्देपछि अहिले भएको उपप्रमुखको नेपाल भ्रमण उच्च हो । नेपाली सेनाका उपरथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीसहितको चिनियाँ सैन्य प्रतिनिधिमण्डलको स्वागत गरेका थिए । 

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरूको नेपाल भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्ने नेपाली सेनाले जनाएको छ ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top